काठमाडौँ । कोरोनाका काराण दुध ढुवानीमा समस्या भएपछि उपभोक्ता कम भएकाले दूधको खपत घटेको हो । सरकारको निषेधाज्ञाले गर्दा दूधको खपत ६० प्रतिशतले घटेको छ ।
डेरी उद्योगका अनुसार पछिल्लो समय बजारमा ४० प्रतिशतमात्र दूधको खपत भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले दूध बिक्री नभएर किसानले खेर फाल्नुपरेको बताए ।
डेरी उद्योगले दूध खरिद नगर्दा किसानले दूध खेर फाल्नु परेको उनको भनाइ छ । दूधको रकम पाउन नसक्दा किसालाई प्रत्यक्ष मार परेको उनले बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार भर्चुअल कार्यक्रम गरेर विश्व दूध दिवस मनाएको छ । कार्यक्रममा सहभागी किसान र उद्योगीका प्रतिनिधिले निषेधाज्ञाको कारणले दूधको बिक्री नभएकाले ठूलो क्षति भएको बताएका छन् ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले कोभिडको कारणले दूधको खपत ६० प्रतिशतले घट्दा किसान र उद्योगी प्रत्यक्ष मारमा परेको बताए ।
कुल ग्राहस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पुर्याएको दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान गर्ने तर्फ सरकारको प्रयास नभएको उनको भनाइ छ ।
दुग्ध विकास संस्थान (डीडीसी)ले सामान्य अवस्थामा एक लाख लिटर दैनिक संकलन हुने गरेकोमा निषेधाको कारणले गर्दा ९० हजार लिटरमा झरेको बताएको छ ।
यस्तै दुग्ध उद्योग संघ अन्र्तगतका उद्योगहरुले दैनिक ४ लाख लिटर दूध संकलन गर्ने गरेकामा अहिले एक लाख ९० हजार लिटरमा झरेको छ ।
नेपाल डेरी संघले सामान्य अवस्थामा दैनिक २ लाख ७५ हजार लिटर दूध संकलन गर्दै आएकोमा निषेधाज्ञाका कारण घटेर १ लाख २० हजार लिटरमा झरेको छ ।
दूधको उत्पादन बढाउन ४६८ वटा स्थानीय तहमा कृत्रिम मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कोभिडको कारणले दुग्ध क्षेत्रमा धेरै नोक्सान भएकाले कसरी क्षतिपूर्ति दिने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।
बोर्डले सन् २०११ देखि विश्व दूध दिवस मनाउँदै आएको थियो । दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरानोविरुद्धको दीर्घकालिन जीवन भन्ने नाराका साथ यो वर्ष दिवस मनाइएको छ ।
Leave a comment