हाइलाइट

जडिबुटी खेती गर्दै सहकारी, ३ रुपैँया अनुदान दिइने

जडिबुटी खेती गर्दै सहकारी, ३ रुपैँया अनुदान दिइने :: Sahakari Akhabar

दाङ । दाङमा सहकारीमार्फत जडिबुटी खेती हुने भएको । सहकारीका सदस्य किसानलाई बिरुवा निःशुल्क उपलब्ध गराइ प्रति बिरुवा ३ रुपैया अनुदान दिइने कार्यक्रम सुरु भएको छ ।

डिभिजन वन कार्यालय दाङले सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङमार्फत जडिवुटीका बिरुवा लगाउने किसानहरुलाई बिरुवा निशुल्क उपलब्ध गराउने छ ।

बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप प्रति विरुवा ३ रुपैयाँ नगद अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको छ । दाङ जिल्लामा सुगन्ध कोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धा लगायतका जडिबुटीको व्यावसायिक खेतीको संभावना छ ।

त्यसैगरी संभावना बोकेको जिल्ला भएकोले यहाँ जडिबुटीका खेती गर्न चाहने किसानहरुलाई प्रोत्साहन गर्नका लागि सहकारीमार्फत जडिबुटी खेती सुरु गरेको संस्थाका सचिव हेमराज शर्माले जानकारी दिए ।

सहकारी मार्फत जडिबुटी बिस्तार कार्यक्रमबाट यो बर्ष करिव ७५ हजार जडिबुटिका बिरुवा रोप्ने गरी कार्यक्रम अघी बढाइएको डिभिजन वन कार्यालयय दाङका प्रमुख बिजयराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार जडिबुटीको पकेट क्षेत्र मानिएको दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाका ५ वटा वडाहरु र  घोराही उपमहानगरपालिकाका २ वटा गरी जम्मा ७ वटा वडामा जडिवुटी खेती बिस्तार कार्यक्रम शुरु गरिएको छ । यो कार्यक्रम अन्र्तगत किसानहरुलाई टिमुर, तेजपात र मालागेडी जातका विरुवाहरु निशुल्क उपलब्ध गराइने छ ।

आफ्नो खेर गइरहेको वा कम उत्पादनशिल निजी जग्गामा जडिबुटी खेती गरी किसानहरुलाई व्यवसायिक र उद्यमी बनाउने र यही अभियान मार्फत गाँउ गाँउमा समृद्धि कार्यक्रमको उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । यसका लागि किसानले कम्तीमा दुई कठ्ठा क्षेत्रफलमा बिरुवा रोप्ने छन् ।

२ कठ्ठा जमिनमा ५/५ मिटरको दुरीका हिसावले किसानले २५ वटा बोट लगाउनुपर्ने छ  । यसरी लगाइएका जडिबुटी बिरुवा हुर्काउने किसानलाई अनुगमन पछि प्रतिबिरुवा ३ रुपैयाँ का दरले स्यहार संभार प्रोत्साहन प्रदान गरिने डिभिजनल वन अधिकृत सुवेदीले जानकारी दिए ।

किसानलाई दिने बिरुवाको अधिकांश हिस्सा डिभिजन वन कार्यालयले  आँफैले उत्पादन गरेका बहुवर्षिय (ठुलो साईज पुगेका)  टिमुर, दालचिनी र मालागेडी हुने र नपुग बिरुवा खरिद गरेर समेत दिन सकिने सुचना अधिकारी खिम बहादुर केसीले बताए ।

डिभिजन वन कार्यालय दाङको सहयोगमा जडिबुटी खेतीका विस्तार कार्यक्रमका लागि लक्षित वडामा स्थानीय सहजकर्ता परिचालन गरी जडिबुटीको बिरुवा रोप्न चाहने किसानको लगत संकलन गर्ने काम भइरहेको कार्यक्रम कार्यान्वन गर्ने जिम्मा पाएको सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्था दाङका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वडामा एक जनाका दरले सात जना सहजकर्ता र सहजकर्तालाई परिचालन गर्ने, १ जना सुपरभाईजर परिचालन गरी अहिले किसानहरुले लगाउन खोजेको जडिबुटिको बिरुवा, जडिबुटीको जात र परिमाण, जडिबुटी लगाउने जग्गाको क्षेत्रफल, बिरुवा ढुवानी र वितरणका लागि सुरक्षित स्थानमा व्यवस्थापन र बितरणको लागि आवश्यक रणनिति बनाउने काम गाउँतहमा भइरहेको छ।

विरुवा वितरण तथा वृक्षारोपण सहजकर्ताहरुलाई जडिबुटी खेती विस्तार सम्बन्धी ज्ञान तथा सीप विकास सहजकर्ताहरुलाई अभिमुखीकरण गरी काममा लगाइएको उनले बताए ।

लुम्विनी प्रदेशको नीती तथा कार्यक्रममा दाङ जिल्ला पनि जडिबुटीको लागि प्रसिद्ध जिल्ला भएको भन्दै जडिबुटी लक्षित कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । कार्यालयले गत बर्ष टिमुर बर्ष कार्यक्रम घोषणा गरि एक लाख बढि बिरुवा लगाएको थियो । गत बर्ष लगाइएकका अधिकांश बिरुवा हुर्किएको कार्यालयले जनाएको छ ।

डिबुटि बिस्तार अभिमूखिकरण कार्यक्रम सम्पन्न

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङ  र डिभिजन वन कार्यालय घोराही दाङको सहयोगमा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्र्तगत सहजकर्ताहरुको लागि अभिमूखिकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एंव डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत बिजयराज सुवेदी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहजकर्ताहरुले गाउँतहमा गर्नुपर्ने कामको बारेमा जानकारी गराइएको थियो ।

डिभिजनल वन अधिकृत सुवेदीले कार्यक्रमले कार्यक्रम अन्र्तगत किसानलाई जडिबुटीको ब्यावसायिक खेती मार्फत आर्थिक समृद्धि गराउनका लागि कार्यक्रम थालिएको बताए ।

कार्यक्रममा सहायक वन अधिकृत खिमबहादुर केसीले जडिबुटि खेती र त्यसले किसानलाई दिने फाइदाका बारेमा प्रकाश पारे । कार्यक्रममा बंगलाचुलीका ५ र घोराहीका २ वटा गरी ७ वटा वडाका सहकर्ता र सुपरभाइजनलाई प्रशिक्षण दिइएको थियो ।



Leave a comment