धनगढी । उदयदेव बहुउद्धेश्यीय सहकारीले बीउ ब्राण्डिङ गर्ने भएको छ । संस्थाले आफ्नै ब्राण्डमा बिउ बजारमा ल्याउने भएको हो । किसानहरुलाई गुणस्तरिय बीउ बिजन उपलव्ध गराउन किसानकै सहभागितामा संस्थाले बीउ बिजन प्रशोधन शुरु गरेको छ ।
सदस्यहरुलाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउन सहकारीले बीउ प्रशोधन केन्द्र स्थापना गरेको छ । प्रशोधन केन्द्रको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले उद्घाटन गरेका छन् ।
प्रशोधन केन्द्र स्थापनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन इकाई महेन्द्रनगरको अनुदान सहयोग ३८ लाख २५ हजार र सहकारीको ४३ लाख १० हजार गरि ८१ लाख ४३ हजार लगानी रहेको छ ।
सहकारीको आफ्नै १ बिगाह जग्गामा स्थापना गरिएको प्रशोधन केन्द्रमा २ टन क्षमताको सीड ग्रेडर, २ टन क्षमताको सीड टीटर,२ टन क्षमताको इलिभेटर, चिस्यान मीटर, बोरा सिउने मेशीन, इलेक्ट्रिक फर्म स्केल सहितका उपकरण राखिएका छन् ।
संस्थाले सदस्यलाई आय आर्जनसँग जोड्न र गुणस्तरिय बीउको उपलब्धता सहज बनाउने आफ्नै ब्राण्डमा बीउ बजारमा ल्याउन लागेको सस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले बताए ।
उनले भने ‘हाम्रो सहयोगमा किसानहरुले २५ बिगाहमा धानको बीउ लगाइसकेका छन् । किसानहरुले उत्पादन गरेको बीउ खरिद गरेर सहकारीले ब्राण्डिङ गरे बजारसम्म पुरयाउँछ ।’
किसानबाट खरिद गरिएको बीउलाई टीट गर्ने, ग्रिडिङ गर्ने, प्याकिङ गर्ने र आफ्नो ब्राण्डमा राखेर बजारमा लैजाने काम सहकारीले गर्नेछ ।
आफ्नै ब्राण्डमा बीउ बजारसम्म पुर्याउन सहकारीको नाम लेखिएका बोरा पनि मगाइ सकिएको उनले बताए । अहिले धानका बीउ उत्पादन र प्रशोधन शुरु गरिए पनि बिस्तारै तरकारीका बीउ पनि बजारमा ल्याउने चन्दले बताए ।
बीउ उत्पादका लागि सहकारीले किसानलाई बीउ, मलखाद र औषधी दिने गरेको छ । समय समयमा बीउ लगाएको खेतको अनुगमन समेत सहकारीका प्राविधिकहरुले गर्ने गर्दछन् ।
सहकारीका सदस्यहरुलाई बीउ उत्पादनमा जोड्न संस्थाले बीउ बिजन बृद्धि कार्यक्रम नै सञ्चालन गरेको छ । संस्थाले किसानहरुसँग बजार मुल्य भन्दा १० प्रतिशत बढी मुल्यमा बीउ खरिद गर्ने सहमति भएको छ ।
बीउ उत्पादनका लागि सहकारीको कस्टम हायरिङ सेन्टर (कृषि उपकरण बिक्री केन्द्र) बाट सहुलियत दरम कृषि सामाग्री उपकरणहरु भाडामा दिने गरिएको छ । सेन्टरमा १३ वटा कृषि उपकरणहरु राखिएका छन् ।
Leave a comment