दाङ । दाङमा सहकारीमार्फत गाई संरक्षण अभियान सुरु भएको छ । छाडा चौपाया व्यवस्थापन तथा संरक्षणका लागि सहकारीले गौशाला निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका—१३ फूलबारीमा २ करोड लगानीमा गौशाला सञ्चालनमा ल्याइएको हो ।
तुलसी गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाले फूलबारीमा ७ बिघा क्षेत्रफलमा गौशाला निर्माण गरेको छ । संस्थाका अध्यक्ष वीरबहादुर भण्डारी (मोहन)ले सहकारीमार्फत गाईको संरक्षण अभियान सुरु गरिएपनि घाँसको समस्या रहेको बताए ।
२०७६ सालदेखि निर्माण सुरु भएको तुलसी गौशालाको आधारभूत पूर्वाधार निर्माण सम्पन्न भएका छन् । गौशालामा ४ सय गाई छन् । २०७६ देखि तुलसीपुर ६ रजौरामा अस्थायी रूपमा गाईको व्यवस्थापन हुँदै आएकोमा स्थानीय तहको सहकार्यमा सहकारीमार्फत गाईको व्यवस्थापन गर्न थालिएको हो । तुलसीपुरका छाडा चौपायाको व्यवस्थापन चुनौती बन्दै आएको बेला गौशाला सञ्चालन हुनु सकारात्मक देखिएको जानकारहरू बताउँछन् ।
Leave a comment