जुम्ला । जुम्लाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको भत्ता प्रस्तावनामा २ सय ८४ किसानको आवेदन परेको छ । भत्ताकालागि जुम्लाका भेडापालक कृषकले आफ्नो फार्म सूचीकृत गर्न आवेदन दिएका छन्।
कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम अन्तर्गत गोठालो भत्ताको लाागि आवेदन लिइएको हो ।
कार्यालय प्रमुख गोविन्द महतले किसानले दिएका आवेदनमाथि छनौट प्रक्रिया शुरु गरिने बताए । आवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो, होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्डमा गएको वताए ।
‘फिल्डको प्रतिवेदन अनुसार स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र स्वीकृत दिने लक्ष्य रहेको छ’, उनले भने, ‘आगामी महिनादेखि कार्यक्रम सुरु हुने छ ।
५० देखि माथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिने व्यवस्था गरिएको छ ।’उनका अनुसार जुम्लाका १ सय ५० जना भेडा किसानलाईलाई गोठालो भत्ता दिने नियम रहेको छ ।
रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिन्छ । कर्णाली प्रदेश सरकारले किसानलाई भेडा पालनतर्फ आकर्षित गर्न गोठालो भत्ता दिन थालेको हो ।
कर्णाली सरकारले गोठालो भत्ता तथा यस अन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । जुम्लामा पछिल्लो समय किसान फर्म तथा समूह दर्ता गरेर व्यावसायिक रुपमा भेडा पालनमा लागेका छन् ।
Leave a comment