काठमाडौं । सहकारीमा दोहोरो पद बर्जित भएको ८ वर्ष भयो । सहकारी ऐन ०७४ले नै सहकारीमा दोहोरो पद निषेध गरेको थियो । सहकारी ऐन, २०७४ को दफा ४१ को (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था गरेको छ ।
सोही ऐनको दफा ४४ (१) को खण्ड (ग) मा कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन भन्ने ब्यवस्था छ।
तर सहकारी ऐनमा भएको उक्त ब्यवस्थालाई सहकारीका संचालकले धोति लगाइदिएपछि सहकारी विभागले कार्यान्वयनकालागि भन्दै एकदर्जन पटक निर्देशन र परिपत्र जारी गरेको गर्यौ छ । तर कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने हिम्मत भने गरेको छैन ।
बाराम्बार ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने’ ब्यवस्था कार्यान्वयनका लागि निर्देशन भन्दै पत्र जारी गरि झारो टार्दैआएको छ ।
केही समय अघि सहकारी महासंघ र सहकारी बैंकलगायत केन्द्रीय संघहरुलाई संचालकको विवरण बुझाउन निर्देशन जारी गरेको थियो। उक्त निर्देशनलाई पनि सहकारीका नेतृत्व संघहरुले वेवास्ता गरेपछि विभागले पूनः परिपत्र जारी गर्दै सहकारी संघहरुलाई १५ दिनको समय भित्र संचालकको विवरण पठाउन भनेको थियो ।
उक्त परिपत्र पछि महासंघले संचालकको विवरण बुझाएपनि दोहोरो पद कार्यान्वयनको विषयमा अटेर नै गरेको छ । सहकारी महासंघमा आधादर्जन भन्दा बढी संचालक दोहोरो र तेहेरो पदमा रहेका छन्।
महासंघका बरिष्ठ उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष रमेश पोखरेल आफै तहेरो पदमा रहेकाले उनले सहकारी विभागलाई दोहोरो पद कार्यान्वयन गर्न चुनौती नै दिएका थिए ।
त्यसैगरी सहकारी बैंक र कृषि केन्द्रीय संघ, नेफ्स्कूनलगायत अधिकांश केन्द्रीय संघहरुका संचालकहरु दोहोरो र तेहेरो पदमा रहेका भएपनि विभाग आफै कानु्न कार्यन्वयन गराउन सकेको छैन, कार्यान्वयनका नाममा निर्देशन र परिपत्रमा अड्किएको छ।
सहकारी विभागले २०८१ साल असार १९ गते पहिलो पटक दोहोरो पद कार्यान्वयनकालागि निर्देशन जारी गरेको थियो । त्यसैगरी २०८१ साल साउन १७ गते पूनः निर्देशन जारी गरेको थियो ।
त्यसैगरी सहकारी विभागले २०८२ साल असार ३२ गते सहकारी संघ संस्थामा सुशासन प्रवर्धनको लागि जारी गरिएको १०२ बुंदा एकिकृत निर्देशनको १६ नम्बर बुदामा पनि उक्त कुरा उल्लेख गरिएको छ।
त्यसैगरी विभागले पून मंसिर २२ गते दोहोरो पद कार्यन्वयनकोलागि ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने’ ब्यवस्था कार्यान्वयनका लागि भन्दै निर्देशन जारी गरेको छ। त्यसैगरी विभागको बुँताले नभ्याएपनि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकको निर्देशन पनि सम्झाएको देखिन्छ ।
विभागले जारी गरेको निर्देशनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणवाट २०८२ साल जेठ ९ गते जारी भएको बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको सञ्चालन सम्वन्धमा जारी गरिएको नियामकिय मापदण्ड, २०८२ को परिच्छेद ७ को बुँदा १.४. ।
यस्तै नेपाल राष्ट्र बैंकवाट मिति २०८१ साल चैत ४ गते जारी भएको वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको लागि निर्देशन तथा मापदण्ड, २०८१ को परिच्छेद ७ को बुँदा १.४. ।
सहकारी क्षेत्रमा सुशासन कायम गर्न सहकारी अभियान र नियमनकारी निकायको साझा दायित्व भएको र कानून तथा नियमनकारी निकायका निर्देशनको परिपालना गर्नु स्वार्थको द्वन्दका कारणले हुनसक्ने स्रोतको दुरुपयोग रोक्नु,सञ्चालक समितिको कानून बमोजिमको वैधानिकता कायम राख्नु पर्ने सवालमा हामी सबै सचेत र सजक हुनुपर्ने विभागको भनाइ छ ।
त्यसैगरी कानुन परिपालना नभएको पाईएमा सहकारी ऐन तथा नियामावली बमोजिम कारवाही हुने जनाएको छ । कानुन पालना नभएको अहिलेसम्म विभागको आँखामा नपरेको हो की देखेर पनि नदेखे जस्तो गरेको हो, एक सहकारी अभियन्ताले भने, तँ रोएजस्तो गर हामी कुटेजस्तो गर्छौ ।
विभागको पछिल्लो निर्देशनमा भनिएको छ, सहकारी ऐनको प्रावधान कार्यान्वयनका लागि विभाग र सहकारी नियामक निकायहरुवाट यसअघि निर्देशन तथा मापदण्ड जारी भएको र हालसम्म पनि केहि व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भई रहेकोले निर्देशनका बाबजूत यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशिघ्र उक्त कानूनी प्रावधान कार्यान्वयन लागि सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई निर्देशन जारी गरिएको छ ।

Leave a comment