हाइलाइट

कुमरोजको साना किसान सहकारी, जसले बजार मूल्यको ‘थीति’ बसाल्यो

कुमरोजको साना किसान सहकारी, जसले बजार मूल्यको ‘थीति’ बसाल्यो :: Sahakari Akhabar

किसानहरुलाई व्यवसायीक रुपमा डोर्याउन सफल सहकारीहरुमा साना किसान कृषि सहकारीहरु भएपनि बचत ऋणमा मात्र सिमित संस्था भनिदिंदा र बचत ऋण सहकारीकै दाँजोमा यस्ता संस्थालाई राखिदिंदा चाही उनीहरुको चित्त दुखेको गुनाँसो छ।

काठमाडौं । कुटानी पिसानी होस् वा किनबेच नै गर्नुपर्दा पनि बजारमा मूल्य मनलाग्दी थियो, जसले जति पायो उति लिन्थे । चितवनको कुमरोज वरीपरि तोरी प्रसस्त उब्जाउ हुन्थ्यो । घडेरी पाराका जमिन, काँडाघारी, जंगल रहेको र पानीको अभावका कारण धान भने त्यति फल्दैनथ्यो । बागलुङ्ग, स्याँङ्जा पर्वतलगायतका थुप्रै पाहाडी जिल्लाबाट बसाइ सरेर आउनहरुको समाज बसिसकेको थियो ।

त्यही समाजले उब्जनी गरेको एककिलो तोरी पेल्न १८ रुपैंयाँसम्म भाडा तिर्नुपर्ने हुन्थ्यो । खेत जोत्न विगाहको २२ सयसम्म पनि तिर्नुपथ्र्यो किसानलाई अर्को कुनै विकल्प थिएन । जव २०४० सालमा साना किसान विकास परियोजनाले समुदायलाई संस्था हस्तान्तरण गर्यो त्यसपछि किसानका दिन आउनथाले ।

किसान, साना किसान कृषि सहकारीमा आवद्ध हुनथाले, संस्थाले विभिन्न निकायसंगको सहकार्यमा कृषकका लागि आवश्यक सवै कुराको जोहो गर्नथाल्यो । बारीका गरा सम्याएर धान फल्ने खेत बनउन थालियो, जंगल फाँडेर बस्ती बसाल्ने र खेतमा बुढी राप्तीको पानी ल्याएर सिंचाइ गर्ने सम्मको मेसो मिलायो ।

संस्थाले किसानलाई सदस्य बनाएर अघि बढ्यो र सरोकारवालाहरु संग समन्वय गर्दै किसानकै लागि रातदिन काम गर्यो । बिस्तारै संस्थाले किसानकालागि आवश्यक कृषि सामाग्री देखि मल बीउबिजन र तालिम शिक्षा पनि प्रदान गर्दै गयो । मूल्यमा समनता ल्याउन पहिलो चरणमा नै संस्थाले तोरी मिल र धान कुट्ने मिल राख्यो ।

संस्थाका अध्यक्ष तेजप्रसाद वर्तौला भन्छन्, ‘संस्थाले तोरी मिल स्थापना नगर्दा यहाँका किसानले तोरी पेल्नको लागि बाहिरको मिलमा एक किलोको १८ रुपैंयाँ सम्म तिर्नुपथ्र्यो जव सहकारीले मिल स्थापना गर्यो एककिलो तोरी पेल्नलाई ९ रुपैंयाँ तिरेहुने बनायो ।’ यसरी सदस्यलाई बजार मूल्यमा भएको मनलाग्दी सहकारीले एकरुपतामा ल्याउने काम गर्यो ।

उनी भन्छन्, अहिले बाहिरका ब्यापारीले पनि सहकारीले लिने मूल्यमा नै तेल पेल्नेगरेका छन् । सहकारीको मिलमा तोरी पेल्न ल्याउने सदस्य कृषकलाई संस्थाले उल्टै खाजाखर्च समेत दिने ब्यवस्था गरेर सहकारीको सेवा बारे बुझाएको थियो । अध्यक्ष वर्तौलाले भने, धानको मूल्यमा, खेत खनजोतमा पनि मनलाग्दी बजार भाउ थियो, त्यसलाई संस्थाले दररेट तोकेर नै एकरुपतामा ल्याएको छ।

सदस्य कृषक र ब्यापारीहरु बीच मूल्यको सहजीकरण गरिदिने सम्मको काम संस्थाले गर्दैआएको छ । संस्थासंग धान मिल तथा कृषि औजारहरु नहुँदा किसानले ब्यापारीलाई धान काट्नकालागि प्रति बिगाह ८ हजारसम्म तिर्थे, सहकारीले मेशिन ल्याएपछि प्रति बिगाह ४ हजारमा धान काट्न पाएका छन् । खेत जोत्न एक बिगाहको २२ सयसम्म तिर्नुपर्ने अवस्था थियो ।

संस्थाले मेशिन खरिद गरेर १६ सयमै एक बिगाह खेत जोतिदिन थालेपछि किसानलाई राहत भएको छ । अहिले सहकारीले तोकेको दररेटमा अरुले पनि काम गर्नथालेका छन् । अहिले २२ सय घरधुरी कृषक संस्थामा आवद्ध भएका छन् र उनीहरुलाई संस्थाले आवश्यक खाद्य बाली तथा तरकारीको बीउहरु देखि धान रोप्ने, काट्ने, जोत्ने औजारका साथै भिजेको धान, पराल सुकाउने मेशिनको समेत ब्यवस्था गरेको छ।

कृषकले पशुपालनका लागि चाहिने सबै सेवापनि संस्थाबाट नै पाउनेगरेका छन् । कृषि औजार, भेटनरी सेवा, औषधी र बजारको ब्यवस्था पनि संस्थाले नै गरिदिएको छ । अध्यक्ष वर्तौला भन्छन्, ‘खरको छानो भएका सदस्यहरुले अहिले पक्की घर बनाइसकेका छन् ।’

सदस्यको कृषि ब्यवसायलाई प्रवर्धन गर्न सहुलियतमा ऋण लगानीका साथै आवश्यक कृषि औजारदेखि प्राविधिक र बजारीकरणको पनि संस्थाले ब्यवस्था गरेको छ । कार्यक्षेत्रका भूमीहिन, सुकुम्वासी न्युनआए भएका महिला तथा किसानहरुको समुह निर्माण गरी उनीहरुको वृति विकास गरेर, वित्तिय चेतना प्रदान गर्दै उनीहरुको अर्थिक सवलिकरणका लागि संस्थाले योगदान गरेको छ।

सदस्यले गरेको ब्यवसाय

सदस्यले ब्यवसायिक रुपमा धान खेती, तोरी खेती, केरा खेती, माछा पालन, माहुरी पालन, कुखुरा पालन र गाईभैसी पालनलगायतका धेरै ब्यवसाय गरेका छन् । सदस्यको यही कृषि पेशालाई नै आधुनिक र ब्यवसायिक बनाउन संस्थाले सिंचाइको प्रवन्धदेखि कृषि औजार, मल बीउबिजन, किटनाशक औषधीलगायत प्राविधिक सेवा पनि दिएको छ।

संस्थाको ब्यवसाय

संस्थाबाट तोरी तेलमिल संचालन भएको छ । कृषिको उत्पादन बृद्धि गर्न, सुरक्षित गर्न र आधुनिकरण तथा पूर्ण ब्यवसायिकिकरणका लागि एकसय पाँच कठ्ठा जग्गा खरिद गरेर संस्थाले परियोजना संचालन गरेको छ । यसमा रामपुर क्याम्पससंग समन्वयमा विभिन्न जातका बढी उत्पादन हुने धानको बीउको अनुसंधान गरी सदस्यलाई निशुल्क बितरण समेत गरेको छ।

संस्थाले कृषकहरुलाई खेत जोत्ने, धान रोप्ने, काट्ने, पराल सुकाउनका लागि कस्टम हायरिङ सेन्टर स्थापना गरेको छ । सदस्यको जग्गालाई एकिकृत गरेर एकै प्रकृतिको धान लगाएर ब्यवसायिक रुपमा उब्जनी बढाइदिए पछि किसान पनि खुसी भएका छन् । जग्गा सुधार कार्यक्रम पनि संचालन गरेको संस्थाका प्रवन्धक भीमसेन कार्कीले जनाए ।

उनले संस्थाले आफै जग्गामा कृषको उत्पादनका लागि गोदाम घर निर्माण गरेर सम्पूर्ण कृषि औजारहरु सहुलियत दरमा उपलब्ध गराएको बताए । कृषि प्राविधिक तथा पशु भेटनरी सेवा दिइरहेका छौं, उनले भने, कृषि ल्याबको पनि ब्यवस्था गरेका छौं । बीउ बिजन भण्डारको ब्यवस्था गरेका छौं । सदस्यलाई बचत ऋणका अलवा कृषिलाई प्राथमिकता दिएर लगानी गरिरहेको छ।

राज्यका विभिन्न निकायसंग मिलेर कृषिलाई आधुनिकिकरणमा लैजान धेरै काम गरेको भएपनि सरकार कै निकाय सहकारी नियमन प्राधिकरणले साना किसान कृषि सहकारीलाई नबुझेको अध्यक्ष वर्तौलाको भनाइ छ। कृषि सहकारी र बचत ऋणको मात्र कारोबार गर्ने सहकारीलाई एउटै दायरामा राखेको छ, यसो गर्नुभएन ।

उनी भन्छन, ‘मेरो बिचारमा हामी प्राधिकरणमा जान नचाहेको हैन, हामी जान्छौं तर हामी जस्ता कृषिकर्म नै गरेका सहकारीहरुलाई बचत ऋण सहकारीको दाँजोमा राख्न मिल्दैन, त्यहाँ जाने प्रकृयाका केही बुँदाहरु संसोधन गरेर जाने बाताबरण मिलाउनु पर्छ मात्र भनेका हौं ।’

पारिवारिक र निर्वाहमुखी ढंगले खेती किसानी तथा पशुपालन गर्ने साना किसानहरु कृषि सहकारीका कारण बिस्तारै व्यवसायीक बन्न थालेका छन् । आधुनिक तथा सुधारिएको गोठ र खोर निर्माण गरी पशुपालन, बाख्रापालन, कुखुरापालन, माहुरी पालनगर्ने र टनेल तथा खुल्ला रुपमा आधुनिक प्रविधिहरुको प्रयोग गरी खाद्य बाली, तरकारीलगायतका खेती गर्नेहरुको संख्या बढिरहेको छ।

यसरी किसानहरुलाई व्यवसायीक रुपमा डोर्याउन सफल सहकारीहरुमा साना किसान कृषि सहकारीहरु भएपनि बचत ऋणमा मात्र सिमित संस्था भनिदिंदा र बचत ऋण सहकारीकै दाँजोमा यस्ता संस्थालाई राखिदिंदा चाही उनीहरुको चित्त दुखेको गुनाँसो छ।

संस्थाको वित्तिय अवस्था

संस्थाले सदस्य माझ वित्तिय कारोबार पनि गर्दैआएको छ । २ हजार ८६५ जना कूल सदस्य रहेको संस्थामा ४५६वटा समुह र ९२७ जना ऋणी सदस्य तथा १४ जना कर्मचारी रहेका छन् । ६४ करोड ८९ लाख १७ हजार ७४१ रुपैंयाँ लगानी गरेको संस्थाले अधिक लगानी कृषि तर्फ रहेको संस्थाका मुख्य प्रवन्धक भीमसेन कार्की बताउँछन् ।

२ करोड ७२ लाख ३८ हजार २०० रुपैंयाँ सेयर पूँजी रहेको संस्थाको जगेडा कोषमा ३ करोड ९२ लाख ४६ हजार ९२२ रुपैंयाँ तथा ३२ लाख २४ हजार ७३१ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ । त्यसैगरी ३५ करोड ५६ लाख ५६ हजार ८५४ रुपैंयाँ बचत तथा ८४ करोड ६५ लाख २५ हजार कूल सम्पति रहेको छ।



Leave a comment