काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुको माउ निकायका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले चालु आर्थिक वर्षमा नै १ अर्व १० करोड भाखा नाघेको ऋण असुल गरेको छ ।
संघले प्रकाशन गरेको पछिल्लो वित्तिय बिबरण अनुसार चालु आवमा असुल गरेको ऋण लगानी २ अर्ब ३४ करोड ९ लाख ८६ हजार ३२५ रुपैंयाँ मध्ये १ अर्ब १० करोड भाखा नाघेको ऋण असुलि गरेको जनाएको छ ।
संघको पछिल्लो वित्तिय बिवरण अनुसार जगेडा कोषमा ४३ करोड ८८ लाख ४७ हजार १३२ रुपैयाँ रहेको जनाइएको छ । त्यसैगरी असार मसान्तसम्म २५ अर्ब १७ करोड ७३ लाख १४ हजार ७६० रुपैयाँ बचत रहेकोमा पौष मसान्तसम्म २५ अर्ब ३० करोड १ लाख २७ हजार ७३३ रुपैयाँ पुगेकोे जनाएको छ ।
संघले ०८१ असार मसान्त सम्ममा १० अर्ब ३२ करोड ३ लाख ४५ हजार ३ सय १५ रुपैंयाँ ऋण लगानी रहेको वित्तिय विवरणमा उल्लेख गरेको छ । त्यसैगरी चालु आवमा ८७ करोड ४६ लाख ९२ हजार ३ सय ४९ रुपैयाँ लगानी भएकोमा २ अर्ब ३४ करोड ९ लाख ८६ हजार ३२५ रुपैयाँ असुली भएको जनाएको छ ।
संघले पौष मसान्तमा ८ अर्ब ८५ करोड ४० लाख ५१ हजार ३३९ रुपैयाँ ऋण लगानीमा रहेको जनाएको छ । त्यसैगरी चालु आवको पौष मसान्तसम्म वित्तीय र गैर वित्तीय गरी ७० करोड ९१ लाख ४३ हजार ३२७ रुपैयाँ आम्दानी गरेको बिवरणमा उल्लेख छ ।
संघले उक्त अवधिमा ६० करोड ५५ लाख १३ हजार ८१२ रुपैयाँ खर्च गरि १० करोड ३६ लाख २९ हजार ५१५ रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।
यसैगरी संघले ०८१ असार मसान्तमा ६६ करोड ६३ लाख ६० हजार ८६२ रुपैयाँ गैर बैकिङ्ग सम्पत्ति रहेकोमा पौष मसान्त सम्म १ अर्ब १३ करोड रुपैयाँ पुगेको जनाइएको छ ।
सम्पत्तिको गुणस्तर कायम गर्ने विषयमा सजगभइ अर्धवार्षिक अवधिमा १ अर्ब १० करोड भाखा नाघेको ऋण असूल हुनु, आम्दानी बृद्धि हुदैं जानु सुधारात्मक रहेको र असूली प्रकृयालाई कठोरताका साथ अगाडि बढाइएको साथै गुणस्तरीय लगानीलाई ध्यान दिइएको संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
पौष मसान्तसम्म संघमा सम्पत्तिको ४८.६८ प्रतिशत तरलता रहेको र संघबाट लगानी भएको ऋणको ९१ प्रतिशत ऋण संस्था वा संस्थाको शेयर सदस्यहरुको धितो जमानीको आधारमा लगानी गरिएको अध्यक्ष ढकालको भनाइ छ ।
चालु आर्थिक वर्षमा संघबाट असूली अभ्यासलाई तदारुकता दिइएको र त्यसकालागि मौखिक, लिखित ताकेताका साथै विभिन्न राष्ट्रिय दैनिक सार्वजनिक सूचना प्रकाशन गरिएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले जनाए ।
उनले यसकालागि संघले धितो लिलामीको ३५ दिने ३४ वटा र धितो लिलामीको १५ दिने सूचना १३ वटा प्रकाशन गरिएको समेत जानकारी दिए ।
२०८१ असार मसान्तको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख भएको खुद नाफा १६ करोड ३५ लाख ७८ हजार २ सय ७१ रुपैया रहेकोमा उक्त नाफा वितरण भईनसकेको हुँदा त्यसलाई पनि जोखिम कोषमा गणना गर्ने हो भने ६७ करोड ७५ लाख ९७ हजार २ सय २८ रुपैया हुन आउने प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।
Leave a comment